News Griha :: न्यूजगृह
संसद् बाहिर सांसदहरूको प्रतिक्रिया : अमरेशकुमारको प्रस्तुति शोभनीय भएन, अरू के-के भने ?

काठमाडौं— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताए । ‘प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताका साथ अगाडि बढ्नुपर्छ । उहाँको जाँचको बेला पनि आएको छ,’ उनले भने, ‘हाम्रो पूरा साथ सहयोग रहन्छ ।’

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरे । उलने सांसद सिंह गैरजिम्मेवार भएर प्रस्तुत भएको बताए । 

‘उहाँले आफूलाई नग्न रूपमा प्रस्तुत गर्नुभयो । त्यो शोभनीय भएन भन्ने मेरो बुझाइ र टिप्पणी छ । किनभने आफ्ना कुराहरू तर्कसंगत ढंगले त्यहाँ राख्ने, अस्वभाविक प्रकारका हर्कतहरू गर्न नपाइने भनेर नियमावलीमा व्यवस्था गरेका छौँ,’ उनले थपे, ‘अमरेशकुमार सिंह त नियमावली ड्राफ्ट गर्ने कमिटीमै हुनुहुन्थ्यो । त्यसैले जे हर्कत अगाडि आयो संसदले त सिंगै राष्ट्रलाई जागृत गर्ने, आशावादी भावना पैदा गर्ने, जिम्मेवारी ढंगले प्रश्तुत हुने र सिंगै नागरिकलाई समेत जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने झन् गैरजिम्मेवार भएर प्रस्तुत हुनुभयो । यसले राम्रो गरेन आगामी दिनमा सच्याउनुपर्छ ।’

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सांसद सिंहले अर्धनग्न भएर प्रजातान्त्रिक अधिकार प्रयोग गरेको बताएका छन् । उनले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे । 

‘प्रजातन्त्रमा त्यस्तो अधिकार हुन्छ भन्छन् । प्रजातन्त्र भित्रको उहाँले अधिकार प्रयोग गर्नुभएको होला,’ अध्यक्ष केसीले भने, ‘त्यस्तो राम्रो भएन । त्यो नगरेको भए हुन्थ्यो । कुन देशमा संसदमा त्यस्तो गरेको देख्नुभएको थियो उहाँले यहाँ प्रयोग गर्नुभएको हो । थोरै सांसद भएकालाई बोल्न नदिने भनेर रोकेको छैन संसदले ।’

नेपाली कांग्रसका सांसद प्रदीप पौडेलले नेपाली कांग्रेस पार्टीलाई सुधार गर्न सक्रिय हुनुपर्ने बेला आएको बताए । अब नेतृत्व रिसाउला भनेर चुप लागेर बस्ने बेला नभएको उनको भनाइ छ । 

‘सुधारको अपेक्षा सबैले गरेको स्थिति छ । अब नेतृत्वलाई मर्यादा पुग्दैन कि, अथवा नेतृत्व चिडिन्छ कि, अथवा म जिम्मेवार मान्छे हुँ यो सिस्टमभित्रै बसेर कहिले बदलिन्छ पर्खेर बस्नुपर्छ भन्ने स्थिति अब हुनुहुँदैन,’ उनले भने, ‘अब सुधार गर्न नै सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ 

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई संसद बैठकमा भ्रष्टाचारको सम्बन्धमा बोल्न नदिएका कारण प्रतिरोधस्वरूप अर्धनग्न बनेको बताए । उनले आफू अर्धनग्न हुनु प्रतिरोधको उच्चतम विन्दुको रूपमा अर्थ्याए । 

‘संसदको प्रतिरोधको पराकाष्ठा थियो । उच्चतम बिन्दु भन्छ नि,’ उनले भने, ‘म स्वतन्त्र सांसद मैले भ्रष्टाचारको विषयमा बोल्न खोजेको । भुटानी शरणार्थीको भ्रष्टाचारको अनुसन्धान भइरहेको छ, त्यो अनुसन्धानले ठूला ठूला नेता, सरकारका मान्छेहरू प्रभावित गर्न खोजिरहेको छ । त्यो प्रभावित नहोस् । दोषीलाई कारबाही गरियोस् । निर्दोष नफसाइयोस् ।’ 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १८:३४
Weather Update