
रुकुमपूर्व— रुकुमपूर्वमा बजार अनुगमनलाई प्रभावकारी तुल्याइएको छ । सोमबार सिस्ने गाउँपालिका–५ स्थित कमल दह क्षेत्र बजारमा अनुगमन गरिएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सिस्ने गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रूपमा कमल दह क्षेत्रमा रहेका होटेल तथा पसलहरूको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा आठ हजार पाँच सय ६६ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ । छ वटा होटेल र आठ वटा पसलमा अनुगमन गर्दा दालमोठ, कोकाकोला, आटा, जिरा, पापड, हुक्का फ्लेबरलगायत गरी साढे आठ हजार बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको हो ।
अनुगमनका क्रममा होटेल तथा पसलहरूमा मूल्यसूची नराखेको पाइएको छ । अनुगमनका क्रममा होटेल तथा पसल व्यवसायीहरूलाई मूल्यसूची राख्न निर्देशन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चालु आर्थिक वर्षमा मात्र जिल्लाको विभिन्न ठाउँमा गरी आठ पटकसम्म अनुगमन गरिएको निमित्त प्रजिअ हिरालाल आचार्यले बताए । घरेलु तथा साना उद्योग कार्यालय र गाउँपालिकाहरूले पनि बेलाबेलामा बजार अनुगमन गरिरहेका छन् ।













