लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी— लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।
‘सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ’,उनले भने, ‘दुई/चार दिनमै मन्त्रिमण्डल विस्तार हुन्छ ।’
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् ।
यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो ।
लुम्बिनीमा १० मन्त्रालय छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०६:१४













