
काठमाडौं— प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।
संसदीय सुनुवाइ समिति गठन, नक्कली भुटानी शरणार्थी प्रकरण तथा समसामयिक राजनीतिक विषयमा विषयमा छलफल भइरहेको बालुवाटार स्रोतको भनाई छ । नेताहरूबीच आजको छलफलमा संसदीय सुनुवाइ समिति गठनको विषयलाई लिएर छलफल केन्द्रित हुने स्रोतको भनाई छ ।
सोमबार बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ । १ फागुन २०७८ देखि सर्वोच्च अदालत नेतृत्व बिहिन छ । तत्कालीन सत्तारुढ कांग्रेस-माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुने कानुनी व्यवस्था छ।
संघीय कानुनबमोजिम संसदीय सुनुवाइ समितिमा संघीय संसद्का दुवै सदनका सदस्यहरू रहने व्यवस्था छ । १५ सदस्यीय हुने उक्त समिति नेताहरूबीच सहमति नहुँदा गठन हुन सकिरहेको छैन ।
सोही विषयमा नेताहरूबीच प्रमुख छलफल हुने बताइएको छ।













