News Griha :: न्यूजगृह
सरकारलाई ठाकुर गैरेको प्रश्न, कोही सांसदलाई वारेन्ट कोही सांसद संसद्‍मै यो के भएको हो ?

काठमाडौं— नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही सांसदलाई वारेन्ट जारी हुनु र केही संसद्‍मै बोलिरहेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारसँग भुटानी शरणार्थी प्रकरणको छानबिन के भइरहेको छ भनेर प्रश्न गरे ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं भ्रष्टाचार गर्नु जघन्य अपराध भएको भन्दै उनले जघन्य अपराध मात्र नभएर राष्ट्रघात भएको बताए ।

देशद्रोही काम कार्यमा संलग्न मानिसहरू छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याउन समेत उनले सरकारलाई आग्रह गरे ।

'केही व्यक्तिहरू पक्राउ परेका छन् । केही सांसदलाई वारेन्ट जारी गरिएको छ । उहाँ भागिराख्नुभएको छ । केही सांसदहरू नोटिसमा हुनुहुन्छ । समाचारमा आइराखेको छ उहाँ सदनमै हुनुहुन्छ । सदनमा बोलिराख्नुभएको छ', नेता गैरेले भने, ' यो के भएको हो ? यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ  । यसमा संलग्न को हुन् ? यो सरकारले के गरिरहेको छ ?'

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:१९
Weather Update