
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतसामु लज्जाको विषय बनेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणले नेपाल पक्ष राष्ट्र भएर गरेका कतिपय सन्धि, सम्झौताको धज्जी उडेको समेत बताए ।
'सबैले सुनेकै घटना हो । भ्रष्टाचारसँग सम्बन्धित यस घटनाले अन्तर्राष्ट्रिय जगतसामु हामी नेपालीहरूको लज्जाको विषय बनेको छ । नेपाल पक्ष राष्ट्र भएर गरेका कतिपय सन्धि, सम्झौताको धज्जी समेत उडेको छ', उनले भने, 'त्यसकारणले नेपाली नागरिकलाई भुटानी बनाएर विदेशमा पठाउने यस प्रकारका क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा, कुनै पनि कसुरमा नछोड्नका निम्ति र तदारुकताका साथ कारबाही गरेर अगाडि बढाएर नेपालको इज्जत बचाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु ।'
उनले प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिविद्धताप्रति धन्यवाद दिँदै अरू कुनै पनि प्रेसर, दबाबमा नपरीकन यो घटनाको निष्पक्ष छानबिन गर्न समेत आग्रह गरे । उनले भने, 'नेपाली जनतालाई र नेपाल पक्ष राष्ट्र भएर गरिएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौताको पक्षमा नेपाल निष्पक्षतापूर्वक उभिएको कुरालाई अगाडि बढाउनका निम्ति विशेष अनुरोध गर्न चाहन्छु ।'













