
काठमाडौं— प्रमुख तीन दलका शीर्ष नेताबीच मंगलबार बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ ।
उक्त छलफलका क्रममा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
छलफलमा संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्त्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ ।













