
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् ।
मङ्गलबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको बताए ।
उनले बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरूको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताए ।
‘मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्ने कुरामा पनि समस्या देखिएको छ । मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ । व्यापारको लागि ऋण लिनेहरूको लागत कम हुन्छ र बिजनेस भायलबल हुन्छ ।’
सरकारको तर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको उनको भनाइ छ । ‘हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ,’ उनले भने ।
उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताए ।
अर्थमन्त्री महतले आगामी वर्षको बजेट सीमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पारे । ‘जुन लक्ष्य हामी राख्छौँ, त्यो एउटा वर्ग समूहलाई मात्रै हुँदैन, सबैका लागि हुन्छ । बजेटमा कुनै एक घरानालाई मध्यनजर राखेर फाइदा पुर्याउने काम गर्ने र कसैलाई मध्यनजर राखेर घाटा बनाउने काम हुँदैन, जनता र देशलाई मध्यबिन्दु राखेर बजेट आउनेछ,’ उनले भने ।
मन्त्री महतले आगामी वर्षको बजेटका लागि स्रोत जुटाउने चुनौती सरकारलाई रहेको पनि बताए ।













