
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।
मङ्गलबार सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए ।
‘अहिले जुन आर्थिक संकट आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ । त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृृषि उत्पादनमा वृद्धि नै हो,’ उनले भने, ‘कृषिमा आज लगानी गर्नुभयो भने तीन, चार महिनापछि नै नतिजा आउँछ । त्यसपछि उत्पादनमूलक उद्योगहरूलाई सबलीकरण गर्ने, जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ ।’
उनले हरित क्रान्ति कार्यक्रम लागु गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताए । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नसके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।













