
काठमाडौं— बसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ ।
यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ ।
सगरमाथाबाट मात्रै रु ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट रु दुई करोड ८३ लाख र मकालु हिमालबाट रु एक करोड ३६ लाख सङ्कलन भएको छ । पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए । नेपालमा आठ हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन् ।
सगरमाथा आरोहण गर्न चार सय ६७ आरोहीले लिए अनुमति
पर्यटन विभागको विवरणमा यही २५ वैशाखसम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिए । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन् ।
सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । १० वैशाखमै सगरमाथाको चौथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पुर्याउन कठिन भइरहेको छ । उनीहरू एकसाता बढी समयदेखि आधार शिविरमा छन् ।
सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म १० वैशाखमै बाटो खुलिसकेको थियो । वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कुल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।













