News Griha :: न्यूजगृह
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, गाडी भेटियो मान्छे भेटिएनन्

काठमाडौं— नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हानेको छ ।

मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा काठमाडौं प्रहरीको टोलीलेले छापा हानेको हो । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा समेत उनी अहिलेसम्म पक्राउ परेका छैनन् । 

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवा आउने क्रममा उनी बाटोबाटै सम्पर्कविहीन बनेका थिए । आफै प्रहरीमा उपस्थित हुन्छु भनेर प्रहरीलाई खबर पठाएका उनी अहिलेसम्म फरार रहेका छन् । 

मंगलबार भने प्रहरीको टोलीले उनको घरमा छापा मारेको हो । रायमाझीको घरमा उनको सवारीसाधन भेटिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको  निवासमा खानतलासी लिइएको बताए । 

नेता रायमाझी र उनका छोरा सन्दीपविरुद्ध २० वैशाखमा वारेन्ट जारी भएको थियो । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । यसअघि पक्राउ परेकाहरूले उक्त ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको बयान दिएका थिए । हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका केही नेता उक्त प्रकरणमा मुछिएका छन् ।

topbahadur_rayamajhi_home_khumaltar (1)1683631138.jpg

topbahadur_rayamajhi_home_khumaltar (3)1683631137.jpg

topbahadur_rayamajhi_home_khumaltar (4)1683631137.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १७:०१
Weather Update