News Griha :: न्यूजगृह
भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड​​​​​​​

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् । 

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मङ्गलबार शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए । 

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताए । ‘यसका लागि हिजोका दिनमा तपाईंहरूले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरूसँग सहयोगको अपिल गर्न चाहन्छु ।’

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीनवटा शब्दलाई बढी महत्व दिएको बताए । ‘अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो,’ प्रधानमन्त्रीले भने, ‘देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए । 

‘जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पा¥यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु,’ उनले भने । 

प्रधानमन्त्री दाहालले काठमाडौं नजिकै भए पनि हिजोका  दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

‘हिजो राज्यले काठमाडौं नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो,’ उनले भने, ‘अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओहिरिने छन् ।’ 

तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा, विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताए । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १७:२५
Weather Update