
पोखरा— गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सकस भएको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिन खोजेपछि मन्त्रालय भागबन्डाको विषय सकसपूर्ण बन्दै गएको हो ।
कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट टुङ्गिन बाँकी छ । ‘कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ’, उनले भने, ‘केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।’
मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए । ‘केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि नै सहमति बन्छ’, उनले भने ।
प्रदेश सभामा राजीव गुरुङ नेकपा एसका एक्लो सदस्य हुन् । मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका उनी पछि नेकपा एसमा प्रवेश गरेका थिए । प्रदेश सभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेश सभा सदस्य छन् ।
माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताए ।
हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहेका छन् ।













