
काठमाडौं— नेकपा एमालेको सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।
ललितपुरस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेन्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ ।
उनले केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेन्डासमेत तय गरिएको बताए । ‘२०७९ साल १०–११ भदौमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकयता धेरै राजनीतिक परिवर्तन भएको छ सो सम्बन्धमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तयार गरी अबको बैठकमा पेश गर्नुहुन्छ’, उनले भने ।
यस्तै बैठकले चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने एजेन्डासमेत रहेको छ । ‘चौथो केन्द्रीय कमिटीपछि पार्टीका धेरै सचिवालय र स्थायी कमिटी बैठक बसेका छन् । त्यसका निर्णयको अनुमोदन गराउने एजेन्डा रहेको छ’, उनले भने ।
यसैगरी अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहाकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षासमेत हुने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
मिसन ग्रासरुट अभियानको सातवटै भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सम्बन्धित प्रदेशमा खटिएका पार्टीका सचिवले पेश गर्ने उनले बताए । समीक्षा प्रतिवेदन गरिसकेपछि केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुटबारे छलफल गरिनेछ ।
मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्ययोजना बनाउने उनको भनाइ रहेको थियो । यस्तै पार्टीले केन्द्रीय सदस्यलाई आफ्नो ठाउँभन्दा अर्को ठाउँमा वर्षमा एकपटक खटाउने निर्णयसमेत गरेको छ ।













