News Griha :: न्यूजगृह
शीर्ष नेताको बैठकमा गृहमन्त्रीलाई किन बोलाइयो ?
फाइल तस्बिर ।

काठमाडौं— तीन ठूला दलका शीर्ष नेताहरूको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै श्रेष्ठ पनि बैठकमा सहभागी भएका हुन् । 

मङ्गलबार भएको बैठककै विषयमा बुधबार कुराकानी हुने भनिए पनि गृहमन्त्री समेत बैठकमा सहभागी भएपछि पछिल्लो प्रकरणको विषयमा बैठक केन्द्रित हुने अनुमान छ । गृहमन्त्रालय स्रोतका अनुसार शीर्ष नेताहरूको बैठकमा गृहमन्त्रीलाई पछिल्लो प्रकरणको विषयमा कुराकानी गर्न नै बोलाइएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेताहरू तानिएपछि अहिले राजनीतिक रूपमै यो प्रकरणले हलचल मच्चाएको छ । 

बुधबार मात्रै यो प्रकरणमा संलग्न भएको भन्दै नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, यसअघि नै यो प्रकरणमा संलग्न भएको आरोपमा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपनि हाल उनी फरार छन् । यो प्रकरणमा अझै धेरै प्रभावशाली नेता र व्यक्तिहरू तानिन सक्ने गृहमन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:३५
Weather Update