
काठमाडौं— नेपाली कांग्रेसका ३० भन्दा बढी युवा नेताले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रालयले लिएको एक्सन सही भएको र यसलाई निरन्तरता दिनुपर्ने भन्दै उनीहरूले गृहमन्त्री श्रेष्ठलाई धन्यवादसमेत दिएका थिए ।
कांग्रेसका युवा नेताहरू रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, गोविन्द आचार्य, डा. गोविन्द पोखरेललगायतको समूहले श्रेष्ठलाई भेटेरै पछिल्लो प्रकरणमा आफूहरूले सहयोग गर्ने वचन दिएको गृहमन्त्रीका सहयोगी कमल गिरीले जानकारी दिए ।
‘कांगे्रेसका महाधिवेशन प्रतिनिधिहरूसहितको युवा नेताहरूको समूहले गृहमन्त्रीज्यूलाई भेटेर पछिल्लो प्रकरणमा जुनसुकै दबाब आएपनि नरोकिन गृहमन्त्रीलाई आग्रह गरेका थिए,’ गृहमन्त्री नारायणकाजी श्रेष्ठका सहयोगी गिरीले भने, ‘भ्रष्टाचारविरुद्ध कांग्रेसका युवा नेताहरू सँधै सहयोगी बन्ने उहाँहरूले बताउनुभएको छ ।’
यसैबीच, गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब आएपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू पछाडि नहट्ने बताएका छन् । ‘बरु सरकार नै धरापमा परोस् वा सत्ता समीकरण नै बिथोलियोस् । तर, गृहमन्त्रीको हैसियतमा मैले र मेरा प्रधानमन्त्रीले यो प्रकरणका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी छाड्नेवाला छैनौँ,’ गृहमन्त्री श्रेष्ठले भने ।
गृहमन्त्रालय स्रोतका अनुसार यो प्रकरणका आरोपित फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अहिले विशेष रूपमा प्रहरी परिचालन गरी खोजी भइरहेको छ । ‘रायमाझी अबको केही दिनमै पक्राउ पर्ने निश्चित छ । प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको छ । उनी चाँडै पक्राउ पर्नेछन्,’ गृहमन्त्री श्रेष्ठले भने ।
साथै गृहमन्त्रालयले यो प्रकरणमा जोडिएका अन्य थुप्रै प्रभावशाली व्यक्तिहरूलाई पनि चाँडै अनुसन्धानको घेराभित्र ल्याउने गरी तयारी थालेको जनाएको छ । ‘कुनै पनि राजनीतिक दबाब र प्रभावमा नपरी हामीले दोषीलाई कारबाही गर्ने तयारी गरेका छौँ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यो प्रकरणमा जोडिएका कोही उम्कन पाउँदैनन् ।’













