
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन् ।
बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले क्यान्टनमेन्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे ।
‘क्यान्टनमेन्टमा नभएका मानिसहरूका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन्,’ उनले भने, ‘राज्यको ढुकुटी रित्याएर अर्बौँ पैसा कुम्ल्याउन मिल्छ ? यी कुराहरू भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौँको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरू राजनीति प्रतिशोधका अस्त्र बनाउने ?’
उनले बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरु हुनै नसक्ने दाबी गरे । उनले नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रूपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताए । उनले क्यान्टनमेन्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए । उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसाबले चलखेल भइरहेको आरोप लगाए । उनले नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै आपत्ति जनाए ।
‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ, जो सुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुन्छ, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदैन,’ उनले थपे, ‘हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ, पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका विरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन् ।’
अध्यक्ष ओलीले भ्रष्टाचारको विरुद्धमा बोल्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाए । उनले संसदमा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकको विषय रहेको बताए । उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने विपक्षीहरूलाई धम्की दिने काम भइरहेको बताए ।
‘ताजुव त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारको विरुद्धमा बोल्नुभयो, सरकारको विरुद्धमा बोल्दा धम्की मात्रै गएर अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै दिन उजुरी किन गयो ? अहिले पनि विपक्षीहरूको मुख थुन्ने, भ्रष्टाचारको विरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो,’ उनले भने ।
अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भएपनि कस्तो उदारीकरण भन्ने बारेमा स्पष्ट हुन नसकेको बताए । उनले सरकारी सम्पत्ति निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर किमसन खानेकुरा सह्य नहुने चेतावनी दिए ।













