
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणको तथ्य ४ जेठमा संसद्मा खोल्ने बताएका छन् ।
बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले यस प्रकरणमा केही व्यक्तिले ‘फाइँफुइँ’ गरेको बताए । ‘फाइँफइँ गर्ने मान्छेलाई नचिनेको होइन,’ उनले भने ।
अध्यक्ष ओलीले टोपबहादुर रायमाझीले कानुन कार्यान्वयनमा सहयोग नगरेपछि पार्टी सचिवबाट निलम्बन गरेको प्रष्टीकरण दिए । प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानलाई सघाउन रायमाझीलाई पार्टीले सुझाव दिएको उनको भनाइ छ । ‘आरोपबाट भाग्न खोजे सन्देह पैदा हुन्छ, सच्चाइको सामना गर्नुपर्छ,’ उनले भने ।
यद्यपि, टोपबहादुर पक्राउपछि आफू आश्चार्यचतिक भएको उनले बताए । उनले यस प्रकरणमा ‘जसले पैसा बुझ्यो उसलाई पक्राउ नगरेको’ आरोप लगाए पनि नाम भने उल्लेख गरेनन् ।
नेपाली नागरिकलाई राज्यविहीन बनाउने राज्यविरुद्धको अपराधमा संलग्नमाथि निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ । उनले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने बताए ।
यस प्रकरणसम्बन्धी गत जेठमै उजुरी परेपनि केही व्यक्तिलाई समातेर छोडिएको भन्दै सोधे,‘त्यतिबेला किन छोडियो ?’
अध्यक्ष ओलीले यससम्बन्धी अनुचित हर्कत बन्द गर्न पनि चेतावनी दिए ।













