News Griha :: न्यूजगृह
नेपाल वायुसेवा निगमले दुई विमान खरिद गर्ने
फाइल तस्बिर ।

काठमाडौं— नेपाल वायुसेवा निगमले दुइटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । 

प्रादेशिक रूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्नसक्ने दुई जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो । 

यसका लागि २६ वैशाखमा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरु गरिसकेको छ । 

‘सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।’ रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:४१
Weather Update