
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् । बिहीबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरू सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन गर्ने बताए ।
प्रतिपक्ष दल नेकपा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै, दोषी देखिएका जो कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मात्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरू खोल्नु पर्ने बताउँदै भने, ‘प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।’
एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउन खोजेको र आफ्नो संगठनले केही नबोलेको भन्ने आरोप सरासर झुटो भएको बताए । आफ्नो माउपार्टी पनि भ्रष्टाचार विरोधी भएकोले दोषी जोसुकैलाई पनि सरकारले तान्ने र कारबाही गर्नसक्ने बताउँदै भने, ‘टोपबहादुर रायमाझी कहाँ हुुनुहुन्छ ? किन भाग्नुभयो, पुलिससँग आत्मसमर्पण गर्नुस्, निर्दोष साबित हुनुस्, हैन भने अनेरास्ववियुले खोज्न नपरोस् ।’
सत्तारूढ नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति गौरवान्वित भएको बताइन् । अघिल्ला सरकारमा रहेकाहरूले यस्ता सयौँ काण्डहरूलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरूलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताइन् ।
‘दिनदहाडै सुनलाई पित्तल बनाउने प्रचलनलाई क्रम भंग गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई यही मञ्चबाट सलाम, तर देशी–विदेशीको दबाबसामु झुक्नु भयो भने माओवादी विरासत सकिने छ ।’
नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पाराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत इन्ट्रेस्ट र दबाबमा नपरी अगाडि बढ्नुपर्ने धारणा राखे । आफूहरू सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनै पनि हालतमा सरकारले खुट्टा कमनाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अध्यक्ष गजुरेलले यस प्रकरणलाई टुङ्गोमा पुर्याएर भ्रष्टाचारका अरू फाइल पनि खोल्नुपर्ने धारणा राखे ।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागतयोग्य भएको र यो प्रकरण सफल भए प्रचण्ड जनयुद्ध हाँक्न सफल भएजस्तै वर्तमान सत्ता पनि हाँक्न सफल हुने बताए । जनपक्षीय काममा आफू र आफ्नो संगठनको साथ रहने तर, नराम्रा काममा खबरदारी रहने धारणा राखे ।













