
काठमाडौं— नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र समस्या र चुनौतीकाबीच पनि आर्थिक परिसूचकहरू सकारात्मक देखिएको बताएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको नौ महिनामा प्रायः सबै सूचकहरू सकारात्मक देखिएको हो ।
पछिल्लो समय मुलुकको अर्थतन्त्र संकुचनमा गएर मन्दितर्फ उन्मुख हुन लागेको विश्लेषण हुन थालेको छ । यता राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण २.१६ प्रतिशतमा सीमित हुने देखिएको छ । तर सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो ।
सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पछिल्लो समय उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको संकुचनले अर्थतन्त्र ऋणात्मक हुने अवस्था आएको देखिएको छ । तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तिय परिसूचकहरू सकारात्मक रहेका छन् । राष्ट्र बैंकको तथ्याङ्कले मुलुकको अर्थतन्त्रमा नीतिगत व्यवस्थास्थिर र क्षेत्रगत सवलीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
चालु आर्थिक वर्षको सुरुआतमा वाह्य क्षेत्र,रेमिट्यान्समा समेत नकारात्मक भए पनि चालु आर्थिक वर्ष नौ महिनामा अर्थतन्त्रको वाह्य क्षेत्र निरन्तर रूपमा सुधार हुँदै गएको छ । गत फागुनको तुलनामा विदेशी विनिमय सञ्चिति २५ करोड अमेरिकी डलरले सुधार भएको छ । गत फागुनसम्म १० अर्ब ६९ करोड डलर सञ्चिति रहेकोमा चैत मसान्तमा १० अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।













