
काठमाडौं— नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रूपमा सहयोग गर्ने जनाएको छ । कांग्रेसले खाणलाई निलम्बन गर्ने विषयमा भने निर्णय गरेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तटस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका विषयमा अदालतले गर्ने निर्णयलाई आधार मानेर आगामी दिनमा आवश्यक निर्णय गर्ने भन्दै अहिले नै बालकृष्ण खाणलाई कारबाही गर्ने कुनै निर्णय नभएको बताए ।
उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताए । यस प्रकरणका विषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ । त्यस्तै बैठकमा नागरिकता विधेयकलाई प्रमाणिकरण गर्नका लागि वातावरण बनाउने विषयमा छलफल भएको परियारले बताए ।
बैठकले नीति अधिवेशन गर्नुभन्दा अघि भातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल भएको उनले बताए ।
बैठकमा कोशी प्रदेश सरकारका विषयमा पनि गम्भीर छलफल गरेर केन्द्रको सरकारसँग तालमेल गर्ने भन्ने विषयमा छलफल भएको परियारले बताए ।














