News Griha :: न्यूजगृह
दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उल्लेख गरे ।

उनले सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको बताए । दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको उनले बताए । नेपालले दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताए । उनले विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १२:३४
Weather Update