
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबै माथि छानविन गरि कारवाही गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन सङ्गठितरूपमै राज्यशक्तिको दुरुपयोग गरेको घटनाले नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा शिर निहुर्याउनु पर्ने परिस्थिति सृजना गरेको बताएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शरणार्थी प्रकरणमा राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै बहानामा पनि छुट दिन नहुने बताए ।
उनले भने ‘वहालवाला सचिव र तत्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलाठूला भ्रष्टाचार काण्डहरू समयक्रमसँगै सेलाएर जानुका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मुक्ति पाउने नजिरका कारण पूर्णरूपमा आश्वस्त हुनसक्ने अवस्था सिर्जना भइसकेको छैन । ’
अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन पनि राप्रपाको माग छ ।
राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले छानविनमा निर्दोष कोही नपरून् र दोषी कोही नछुट्न भन्ने कानुनको सम्मान गर्दै यस प्रकरणमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न राप्रपा पछि नहट्ने बताए ।
उनले भने ‘यस प्रकरणलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष छानविन गरी दोषी उपर सजाय गर्न माग गरेका छौं, विगतका ठूल्ठूला भ्रष्टाचार काण्डका फाइलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण निर्माण गर्न पनि माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका छौं । ’













