
काठमाडौं— एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीलाई पहिलो शक्ति बनाउने गरि ०८४ सालको निर्वाचनलाईकेन्द्रबिन्दुमा राखेर पार्टी पङ्क्तिलाई परिचालन गर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा भएको एमालेको पाँचौं पूर्ण बैठकपछि रिजालले एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित गर्न सिङ्गो केन्द्रीय कमिटी नै लाग्ने बताए ।
‘भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा ०८० जेठ देखि चैतसम्म नेकपा एमालेले देशव्यापी, प्रवास तथा जनसङ्गठनहरूमा के कस्ता कार्यक्रम गर्छ हामीले खाका प्रस्तुत गर्ने छौं र त्यसलाई केन्द्रीय कमिटीबाट पारित गरेर एउटै लय एउटै ताल र एउटै बुझाईका साथ नेकपा एमालेको सिङ्गो केन्द्रीय कमिटी परिचालित हुने छ’, उनले भने ।
उनले पार्टीको आन्तरिक सुदृढीकरण गरेर जनतासँग तल्लो स्तरमा पुगेर उनीहरूसँग जोडिए पछि एमाले बलियो बन्ने जिकिर गर्दै त्यसपछि अहिलेको गठबन्धन नटिक्ने दावी गरे । ‘त्यो बिल्कुल अस्थायी कुरा हो, यो पानीको फोका जस्तो हुन्छ । हामीले संगठन बलियो बनाएर अघि बढ्ने बित्तिकै सबै समस्याहरू समाधान भएर जान्छन्’, रिजालले भने ।
उनले गठबन्धन सरकारले संघीयतालाई कुरूप बनाउने गरि विभिन्न गतिविधिहरू गरेको भन्दै आरोप समेत लगाए । उनले भोलि बस्ने स्थायी कमिटीको बैठकले आगामी एक वर्षको एमाले पार्टीको वार्षिक कार्यक्रममा सुझाब दिने र प्राप्त सुझावलाईकेन्द्रीय कमिटी मार्फत मूर्त रूप दिएर सक्रियताको साथ लागू गर्ने जानकारी दिए ।













