
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा सभापति लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेका प्रकरणमा सरकारले गरेको कामको प्रशंसा गरे ।
लामिछानेले भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
त्यसैगरी लामिछानेले भ्रष्टाचारको विषय बाहिर आइरहँदा लगातार तीन दल मात्रै बैठक बस्नुले प्रश्न उब्जाएको भन्दै चौथो ठूलो दल रास्वपालाई पनि बैठका सहभागी गराउन प्रधानमन्त्रीसँग आग्रह गरे ।
सभापति रविको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो,‘दिनहुँजसो तीन दल मात्रै बैठक बसिरहनु भएको छ । अर्को चौथो दल पनि छ । हामीलाई पनि सँगै राख्नुहोस् ।’
प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला समर्थन नै फिर्ता लिएकोमा रविसँग गुनासो गरेका थिए ।













