
ललितपुर— जावलाखेलस्थित सदर चिडियाखानामा ४ वटा भाले र दुईवटा पोथी गरी ६ वटा बाघ छन् ।
एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनु पर्छ । यसरी दैनिक ५ केजी मासु खुवाउदा वर्षमा करिब ५६ लाख १६ हजार खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउँछन् ।
उनका अनुसार हाल चिडियाखानामा १८ वर्षीय बाङ्गे बाघ, १३ वर्षीय महाराजा बाघ, १२ वर्षीय बगौरा बाघ, ९ वर्षीय प्रताप (भाले) बाघ, ८ वर्षीया जगती (पोथी) बाघ र ५ वर्षीया महारानी (पोथी) बाघ छन् । कोइरालाले भने, 'सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिबार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।'
पाँच वर्षे महारानी नामको बाघले ८ वैशाखमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो । आक्रमणबाट चन्दको मृत्यु भएको थियो ।
चन्दको मृत्युपछि उक्त बाघलाई नियन्त्रणमा लिई १० वैशाखमा चिडियाखानामा ल्याइएको हो ।महारानीलाई हाल क्वारेन्टिनमा राखिएको छ । सुरुसुरुमा आहारा नखाएर झोक्राए पनि केही दिनयता सामान्य अवस्थामा फर्किन लागेको छ ।
हाल प्रताप र जगतीलाई सँगै राखिएको छ भने प्राविधिक टोलीको निगरानीमा क्वारेन्टिनमा रहेको महारानी बाघमा केही सुधार आएपछि महाराजा बाघसँग मिलाएर राख्ने योजना छ ।