News Griha :: न्यूजगृह
पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू

मोरङ— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताएका छन् । 

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश सभाले विविध रूपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गरे । 

मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले नेपालीबीच मिलेर बस्ने वातावरण बनाउन गम्भीरतापूर्वक सोच्नुपर्ने सबै पक्षसँग आग्रह गरे । 

उनले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने भन्दै यस सम्बन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिए । मन्त्री लिम्बूले पहिचानवादीले उठाएका माग सम्बोधन गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डो¥याउन सकिने धारणा राखे ।

उनले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरी पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने बताए । 

उनले खेलकुदका प्रशिक्षकहरू विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवासमेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी बजेटपछि व्यवस्थापन गरिने जानकारी दिए । रासस
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १७:२४
Weather Update