News Griha :: न्यूजगृह
रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर : एमाले

काठमाडौं— नेकपा एमालेले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । आइतबार एमालेको कृषि तथा पशुपन्छी विकास विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

उनले अन्तर्राष्ट्रियरूपमा रासायनिक मलको मूल्य घटिरहेको बेला नेपालमा भने बढाउनु अनुचित रहेको बताए । सरकारले रासायनिक मलको मूल्यवृद्धिले कृषि क्षेत्रलाई कमजोर बनाउन खोजेको उनको भनाइ थियो ।

‘मलको मूल्य बढाएर सरकारले कृषि क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिएको देखिन्छ’, उनले भने,‘मलको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्दछ । स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न सरकारले जोड दिनुपर्दछ ।’

मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा पार्ने गरी गरिएको निर्णय गैरजिम्मेवारपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा विभागका प्रमुख गिरधारीलाल न्यौपानेले रासायनिक मलमा दिइँदै आएको अनुदानसमेत कटौती गरेर मलमा अस्वाभाविक मूल्यवृद्धिले खाद्यान्न आयातमा सरकारले प्रोत्साहन गर्न खोजेको बताए ।

‘सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी रु ११, डीएपीमा रु सात र पोटासमा रु नौ ले मूल्यपृद्धि भएको छ । यसको प्रत्यक्ष मार नेपालमा कडा परिश्रम गरिरहेका नेपाली किसान र आम उपभोक्तामा पर्न गएको छ’, उनले भने, ‘एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्यवृद्धि गरी उत्पादन लागत झन् बढाई उत्पादन लागतमा थप वृद्धि हुन पुगेको छ ।’

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०६:०२
Weather Update