News Griha :: न्यूजगृह
बैठकमा ३ पटक अनुपस्थित भए एमालेले पार्टी कमिटीबाट हटाउने

काठमाडौं— नेकपा एमालेले पार्टीको बैठकमा ३ पटकसम्म अनुपस्थित भए त्यस्ता सदस्यलाई पार्टी कमिटीबाट हटाउने निर्णय गरेको छ । 

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले सूचना पाएर पनि अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरेको हो । यस्तै, बैठकमा आउने तर, काम नगर्ने प्रवृत्ति सुधार नभएकालाई पनि कमिटीबाट बिदा गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

उनले भने, ‘कमिटीको सूचना पाएर पनि बिनाकारण लगातार तीनपटक बैठकमा अनुपस्थित रहनेहरूलाई कमिटीबाट विदा गर्ने निर्णय भएको छ । बैठकमा आउने तर, काममा नजुट्ने बैठकदेखि बैठकसम्म मात्र उपस्थिति सदस्यहरूलाई निश्चित समयसम्म सक्रिय हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेरित गर्ने, सुधार नभए कमिटिबाट बिदा गर्ने यो परिपार्टीलाई विस्तारै बलियो बनाउदैँ लाने ।’

उनले सदस्यहरू धेरै भएको हुनाले भद्दा भएको कमिटीमा पदाधिकारी बाहेक कुनै सदस्य रिक्त रहे त्यहाँ कुनै पनि सदस्य नथप्ने पनि निर्णय भएको जानकारी पनि दिए ।

पार्टी सदस्यमा शुद्धीकरण र विस्तार कार्य गर्ने, सदस्य नवीकरणको काम गर्ने पार्टी सदस्य सुदृढीकरण र विस्तारको काम गर्ने, कारणवश नवीकरण छुटेकाहरूको १५ असारसम्म जिल्लाले नवीकरण गरेर प्रदेश कमिटीमा पठाउने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । 

१५ असारसम्म जिल्ला कमिटीले नवीकरणको अभियान सक्ने र प्रदेश कमिटीमा बुझाउने, असार मसान्तसम्म सबै प्रदेश कमिटीले नयाँ पार्टी सदस्य भएका र नवीकरण गरेकाहरूको विवरण केन्द्रीय सङ्गठन विभागमा पठाउने निर्णय गरेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १८:०८
Weather Update