
काठमाडौं— हाइटेन्सन लाइनको पोलमा चढेका मोरङ बुढीगंगाका दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् ।
बाटो निर्माणका क्रममा भएको अनियमितता छानबिन हुनुपर्ने भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका माझी स्थानीय जनप्रतिनिधिले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै ११ घण्टापछि सकुशल तल ओर्लिएका हुन् ।
अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका जनप्रतिनिधिले उनका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै मागबारे छलफल सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष अमृता गच्छदारले भनिन्, ‘अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । हामी अहिले उनले उठाएका मागका विषयमा छलफल गरिरहेका छौँ ।’
‘उहाँको माग नै अध्यक्ष र प्रशासकीय अधिकृत नआएसम्म ओर्लिन्न भन्ने थियो । उहाँहरू पुग्नसाथ उहाँ तल झर्नु भयो,’ उनले भनिन् ‘उहाँलाई, इलाकाप्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।’
दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका थिएनन् ।
१ लाख ३२ हजार भोल्टविद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलमा उनी १० घण्टा बसेका थिए ।