
काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसका अवसरमा आयोजित नवप्रवेशी शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।
शिक्षकले दिने शिक्षाले भ्रष्टाचार नियन्त्रणसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङको भनाइ छ । अहिलेका शिक्षक भविष्यका देश चलाउने व्यक्ति भएको भन्दै उनले सानैदेखि असल शिक्षा दिन जरुरी रहेको बताए ।
शिक्षकबाट पाउने ज्ञानलाई बालबालिकाले पछि भविष्यमा उतार्ने भन्दै सच्चा नागरिक बन्न सिकाउनुपर्ने उनको भनाइ छ । देशमा पछिल्लो समय गाँजिएको भ्रष्टाचारको जालो तोड्न सरकार लागिपरेको उनले बताए । उनले भने, ‘सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।’ सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उनको भनाइ छ ।
पछिल्लो समय कांग्रेसका नेताहरूसमेत भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै मन्त्री गुरुङले जो–कोही भए पनि नछाड्ने बताए । रासस













