News Griha :: न्यूजगृह
सामान्य कामको लागि अनसन बस्नुपर्ने बाध्यताले लोकतन्त्रलाई गिज्याएको छ : गिरी

काठमाडौं— प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनवाई नगरेको भन्दै आपत्ति जनाएका छन् । 

जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनशन सुरु गर्नु परेको उल्लेख गर्दै उनले अरु सांसदहरुले आमरण अनशन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, सङ्खुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको बताए ।

उनले सरकारले सबै सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनशन नै बस्नुपर्ने बाध्यता नपरोस् भनी चेतावनी समेत दिएका थिए । उनले भने, ‘यो गरिमामय संसद्मा एउटा वरिष्ठ सांसद सञ्जय गौतम आमरण अनशनमा बस्नु परेको छ ।’

कुनैबेला बीपी कोइराला राष्ट्रहितका लागि ३० दिन आमरण अनशनमा बस्नु परेको उल्लेख गर्दै गिरीले लोकतन्त्रमा पनि त्यस्तै नियति दोहोरिनुले राम्रो सन्देश प्रवाह नगर्ने बताए ।

गिरीले संघीय राजधानीकै नजिकको विकास निर्माणका लागि पनि अनशन बस्नुपर्ने बाध्यताले लोकतन्त्रलाई गिज्याएको बताए ।

‘नगरकोटको बाटो बन्दैन । जब्धी पुल बन्दैन । उदयपुरको त्रियुगा पुल बन्दैन । सङ्खुवासभाको अरुण पुल बन्दैन । चार लेनबाट दाङको बन्दैन । अरु आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन । आज ३ दिन भयो । सांसद सञ्जय गौतम अनशन बस्नु भएको । अव भोलि नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनशन बस्नु भएको छ भनेर सुन्न नपरोस् । पर्सि दीपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस्,’ उनले संसद्मा आक्रोश पोखे ।

सांसद गिरीले संसद्मा सांसदहरुले राखेका मागबारे सरकार गम्भिर बन्न आग्रह समेत गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:०१
Weather Update