
काठमाडौं— नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताएका छन् ।
उनले राज्य विरुद्धको जघन्य अपराधको सवालमा सभामुखले रुलिङ गर्नुपर्ने र सरकारले तत्काल सदनलाई त्यस विषयमा जानकारी दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भइरहेको प्रकरणबारे संसद्लाई जानकारी नगराउनुमा सरकारको गलत नियत भएको प्रतिक्रिया दिए ।
सांसद गैरेले भने, ‘प्रतिनिधि सभाको २६ र २७ वैशाखको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर बिक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । र, २७ गतेको बैठकमा स्वयम् सभामुख महोदयले सरकारलाई संसद्को तर्फबाट जानकारी गराउनका लागि रुलिङ पनि भएको थियो । तर आजको कार्यसूचीमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूची मैले देखिन । म माननीय सभामुख ज्यूको गम्भिर ध्यानाकर्षण गराउनु चाहन्छु ।’
उनले अगाडि थपे, ‘यस्तो अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ । यति प्रगति भएको छ । हामी यो गर्दैछौँ भनेर भन्न के कारणले समस्या भइरहेको छ ? आज देशव्यापी रुपमा यो भ्रष्टाचारको विरुद्धमा सिंगो देश आन्दोलित छ । अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ । संसद् चलिराखेको छ । र, सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आलटाल गरिरहेको छ । र, जनतालाई यसको निष्पक्ष छानविन हुन्छ भन्ने विश्वास छैन ।’
सांसद गैरेले २८ देखि ३० वैशाखसम्म बसेको एमालेको केन्द्रिय कमिटी बैठकले संस्थागत रुपमा यो प्रकरणको निष्पक्ष छानविन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको उल्लेख समेत गरे । उनले भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई निरुत्साहित गर्न, दण्डनीय बनाउन संसद् दृढतापूर्वक उपस्थिति हुनुपर्नेमा जोड समेत दिए ।
सांसद गैरेले सो प्रकरणबारे निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।













