
काठमाडौं— माओवादी केन्द्रका सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत ५ सय भन्दा बढि विद्यार्थीहरूको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाएका छन् ।
क्याम्पसका ५ सय भन्दा बढि विद्यार्थीहरूको परीक्षाको नतिजामा आन्तरिक तर्फको प्राप्तांकमा अनुपस्थित देखाएर विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न खोजिएको भन्दै सो विषयमा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सापकोटाले ढिलो परीक्षा लिने, ढिलो नतिजा निकाल्ने अनि नतिजामा पनि अनुपस्थित देखाउने काम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र आरआर क्याम्पस कसले गरेको हो भन्ने विषयमा तत्काल छानविन हुनुपर्नेमा जोड दिए ।
सापकोटाले विश्वविद्यालयले कलेजलाई र कलेजले विश्वविद्यालयलाई दोषी देखाएर यो विषयबाट पन्छिइरहेको उल्लेख गर्दै तत्काल सत्यतथ्य छानविन हुनुपर्ने बताए । उनले भने, ‘यो विद्यार्थीको भविष्यसँग जोडिएको कुरा हो । यसै पनि परीक्षा ढिलो हुने र नतिजा ढिलो आउने समस्याले विद्यार्थी आजित भएको बेलामा ५ सय भन्दा विद्यार्थीहरूलाई नियोजित रुपमा अनुपस्थित देखाउनु कति सम्मको लापरबाही कुरा हो ?’
उनले सभामुख मार्फत सरकार र सम्बन्धित निकायलाई विद्यार्थीहरूको भविष्यसँग जोडिएको विषयलाई लिएर गम्भिर हुन ध्यानाकर्षण समेत गरे ।
पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा बोल्दै सांसद सापकोटाले सो प्रकरणमा नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखे ।













