News Griha :: न्यूजगृह
लामो समय सत्तामा रहेर उपलब्धि दिन नसक्दा जनताले विकल्प खोजे : पूर्वप्रधानमन्त्री डा.भट्टराई

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयानुकूल जनताका एजेन्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् । सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन् ।

उनले लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरे पनि पूर्ण रूपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानुकूल एजेन्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताए ।

उनले भने,‘हामीले लामो संघर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाइँ त मूल रूपमा सम्पन्न गरका छौँ तर पूर्ण रूपमा विजयी पाउन सकेका होइनौँ । हाम्रो क्रान्ति एक प्रकारको हलाल क्रान्ति थियो, छिनाल क्रान्ति होइन । कतिपय यथास्थितिवादी पश्चगामी सोच राख्ने शक्तिहरूसँग पनि सम्झौता गर्न बाध्य भयौँ । त्यसले गर्दा जुन प्रकारका नीतिहरू लागु गर्न सक्नुपर्दथ्यो । खासगरी वैज्ञानिक भूमि सुधार गरेर किसानहरूमा जमिनको पहुँच शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने कुरा, त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो । हामीले सकेनौं । त्यसकारण युवामा असन्तुष्टि छ, नयाँपन खोजिराखेको छन् । नयाँ विकल्प खोजिराखे पनि ठम्याउन सकेका छैनन् ।’

उनले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताए । उनले विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिस्टहरूबाट अलग्गिन सक्ने खतरा रहेको उल्लेख गरे ।

‘यस्तो बेलामा हिजोका क्रान्तिकारी शक्तिहरूले समयाअनुकूल रूपान्तरण गर्न सकेनौं, हिजोका गाथा मात्रै गाएर बसिराख्यौं भने जनता हामीबाट अलग हुन सक्ने खतरा मैले देखिराखेको छु । खासगरी क्रान्तिपछि लामो समय सत्तामा बसिराख्यो भने, सम्पूर्ण नेतृत्व नै सत्तामा गयो भने, सत्ताको जुन चास्नी हुन्छ त्यसले भ्रष्टीकरण गदिदिन्छ । अहिले जुन प्रकारका भ्रष्टाचारका कुरा आइरहेको छ त्यो त्यसैको एउटा संकेत हो । हामीले कसरी निरन्तर क्रान्तिकारी गरिराख्ने कसरी भ्रष्टीकरणबाट बच्ने भन्नेकुरा एउटा हो । अर्को समय अुकूल वर्तमान एजेन्डा र जनताको चाहना के हो । त्यसलाई ठम्याएर जनतालाई साथमा लिएर हामीले जान सक्नुपर्छ,’ अध्यक्ष डा.भट्टराईले भने ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरूमा जमिनको पहुँच, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम गर्नुपर्नेमा सो हुन नसकेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:३४
Weather Update