काठमाडौं— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन् । सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले २०७८ साल २ भदौमा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौती दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको आरोप लगाए ।
सापकोटाले भने,‘मलाई त्यतिबेलाको विपक्षी दलको नेता केपी ओलीले ०७८ साल २ भदौमा हेरौँ सभामुखले कसरी सदन चलाउँदो रहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्वीकार गरेँ । त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ । मैले १४ जना (सांसद) माधव कमरेडहरूको सूचना टाँस गरिनँ, त्यसपछि लगातार मेरोविरुद्ध आक्रमण गरे ।’
सापकोटाले आफूमाथि विपक्षी दल एमालेद्वारा विभिन्न स्थानमा सांघातिक हमला भएको बताए । ‘सदनमा मात्रै होइन बाहिर पनि सांघातिक हमला गर्ने दुष्प्रयास गरे । बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे,’उनले भने ।













