
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक डाकेका छन् । बिहीबार सरकाले संसदमा पेस गर्ने नीति तथा कार्यक्रमको बारेमा सत्तारूढ दलहरूबाट सुझाव सङ्कलन गर्न बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुँदैछ ।
बजेट ल्याउनुअघि सरकारले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै आएको छ । आगामी १५ जेठमा बजेट ल्याइसक्नुपर्ने कानुनी बाध्यता रहेकोले पनि सरकारले नीति तथा कार्यक्रम केन्द्रित काम गरिरहेको छ ।
हाल गठबन्धन सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टी समावेश छन् । यसअघि गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने हाल सरकार बाहिर छ ।
‘सत्तारूढ १० दलबीचको बैठक मुख्यतः नीति कार्यक्रममै लक्षित हुनेछ । यससँगै समसामयिक राजनीतिक विषयवस्तु बारे पनि वैठकमा छलफल हुन सक्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने, ‘पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि सत्तारूढ दलहरूबीच छलफल हुन सक्छ ।’
रास्वपाले सरकार छाडेपछि पहिलोपटक बसेको सत्तारूढ दलहरूको संयुक्त बैठकले सरकारको स्थायित्वको विषयमा पनि छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रास्वपाले सरकार छाडेपनि तत्कालीन समयमा सरकारमा समावेश नभएको स्थिति भएकोले प्रधानमन्त्रीको तर्फबाट पुनः विश्वासको मत लिइरहनुपर्ने कुनै बाध्यता नरहेको सचिवालयले जनाएको छ ।
‘सरकारमा समावेश भएकै दलले विश्वास नदिएको खण्डमा मात्रै पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ,’ सचिवालय स्रोतले भन्यो, ‘रास्वपाको हकमा उसले विश्वासको मत दिएपनि सरकारमा सहभागी नभएका कारण प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने स्थिति छैन ।’













