News Griha :: न्यूजगृह
पर्यटनमन्त्री किराती भन्छन्— हामी त शोकेसको मान्छे मात्रै रहेछौँ

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् । 

मङ्गलबार सङ्घीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताए । 

मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासोसमेत गरे । ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो,’ उनले भने । 

उनले पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सङ्घीय संसद्् र सांसदहरूलाई आग्रह गरे ।

संसद्मा बल दिएमात्रै आफूहरूले केही गर्नसक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ । मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्बाट पास गराएर संसद््मा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए  । 

मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरू आवश्यक नभएको तर्कसमेत गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:११
Weather Update