
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन् ।
मङ्गलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले समितिले निष्कर्ष निकालेर विषयहरूलाई तोडमोड गर्नु नहुने बताए ।
समितिलाई प्रभावकारी बनाएर जानुपर्ने उनको भनाइ छ । उनले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर, संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन,’ उनले भने, ‘कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागु गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ ।’
सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए ।













