
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् ।
मङ्गलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताए ।
उनले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए । निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
उनले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा बहस आवश्यक रहेको पनि औँल्याए । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने उनले बताए ।
अब मुलुकका युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने उनको धारणा छ । उनले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरूप कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने उनको भनाइ छ ।
उनले छिमेकी मुलुकहरू आर्थिक रूपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरूको लगानी नेपालका आकर्षण गर्न नसकिएको सुनाए ।













