
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्ति निर्माणको घोषणा गरेका छन् ।
युवा संघ नेपालले चन्द्रागिरीमा मंगलबार आयोजना गरेको कार्यक्रममा अंग्रेजीमा भाषण गरेका उनले भने,‘वि वान्ट टू क्रियट नेशनल फोर्स द्याटिज फर, नेशनालिटी द्याटिज फर नेशनल इन्ट्रेष्ट, द्याटिज फर नेशनल फोभरेन्टी ।’
ओलीले भने,‘हामी राष्ट्रिय फोर्स गठन गर्न चाहान्छौं । त्यो राष्ट्रियताका लागि राष्ट्रिय चासोका लागि त्यो राष्ट्रिय स्वाधीनताका लागि तथा सीमा संरक्षणका लागि मात्रै नभएर पार्टीले प्राप्त गरेका उपलब्धि संरक्षणका लागि ।’
आफूहरू राष्ट्रियता र आम नागरिकको पक्षमा उभिएको राष्ट्रिय शक्ति भएकाले पनि प्राप्त उपलब्धिको संरक्षण गर्दै राष्ट्रियताको संरक्षणका लागि एउटा बलियो नेशनल फोर्सको आवश्यकता महसुस भएको उनको भनाइ छ । ‘र, त्यो फोर्स नेकपा एमाले मात्रै हुन सक्छ’,उनले भने ।
जहाँ नेपाली छ त्यहाँ एमाले छ भन्दै उनले एमाले मात्रै मिसन र भिजन भएको शक्तिशाली पार्टी भएको उनको दाबी छ । एमालेमाथि वाह्य तथा आन्तरिक शक्तिबाट निरन्तर घेराबन्दी भइरहेको अध्यक्ष ओलीको दाबी छ ।
आन्तरिक तथा वाह्य शक्तिको घेराबन्दीका बाबजुद नेकपा एमालले नेपालमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा ठूलो उपलब्धि हासिल गरेको उनले बताए ।
दुई वर्ष अघि आफ्नो पार्टीलाई सिध्याउन गम्भीर र अप्रत्यासित आक्रमण भएको भन्दै उनले पार्टी कब्जा गर्ने षड्यन्त्र समेत भएको र त्यसलाई असफल बनाएको जिकिर गरे । बाह्य तत्वबाट परिचालित व्यक्तिहरूले पार्टीमाथि हमला गरेको उनको तर्क छ ।
अबको आम निर्वाचनमा आफ्नो पार्टीले बहुमत सिट जित्नेमा आफू आशावादी, विश्वस्त रहेको र त्यसका लागि पार्टीले योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।













