
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दैछ ।
केन्द्रीय सदस्यहरूबाट प्राप्त सुझावका आधारमा बुधबार आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण निर्णय गर्ने राप्रपाले जनाएको छ ।
काठमाडौंमा सोमबारदेखि जारी बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको छ ।
पूर्ण बैठकमा राजनीतिक, सांगठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजंग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको सांगठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका छन् ।
सदस्यहरूले नेतृत्वलाई राजसंस्था, हिन्दुराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नु पर्नेलागयत सुझाव दिएका छन् ।













