News Griha :: न्यूजगृह
कांग्रेसलाई राजनीतिक संज्ञा दिन मन लाग्न छोडिसक्यो : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा मदन—आश्रितको ३१औँ स्मृति दिवसमा उनले अहिलेको सत्ता गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे । अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको बताए । 

उनले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको बताए । कांग्रेस किंकर्तव्यविमूढ भएको उनले आरोप लगाए । 

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो,’ उनले भने, ‘देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’ 

उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए । वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको उनको भनाइ छ । 

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए । उनले अहिलेको सत्ता गठबन्धन टिक्छ कि जान्छ भन्नेमा मात्रै सीमित रहेको दाबी गरे । 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:५३
Weather Update