
काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् ।
मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको भण्डारीको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।
यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गर्नुभएको छ । उद्यानमा उहाँले स्वामीको बिरुवा रोपिन् । पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपे ।
यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत बुधबार अवलोकन गरिन् । ३ जेठ २०५० मा चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।
एमाले र नेकपा एकीकृत समाजवादीले बुधबार विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन् । रासस













