
काठमाडौं— महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बुधबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू बराबरी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
उनले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरू पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताए ।
‘भ्रष्टाचार नियन्त्रण गर्न सबै निकायहरू उत्तिकै जिम्मेवार हुनुपर्यो नि । सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुपर्यो । सबै राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरू उत्तिकै जिम्मेवार हुनुपर्यो । अझ नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्यो । अहिले गाउँगाउँसम्म भ्रष्टाचार विस्तार भएको अवस्था छ । नागरिक आफू सचेत हुनुपर्ने अवस्था रह्यो । खबरदारी गर्नुपर्यो,’उनले भने ।
नागरिकहरूले स्थानीय तहले गरेका काम, कारबाहीहरूमा निगरानी र चासो राख्नुपर्ने उनको जोड छ ।













