
काठमाडौं— कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो । समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरूसँगको छलफलपश्चात् समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो ।
समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसहमतले पारित भएको घोषणा गरे । उनले बिहीबारको बैठकमा प्रस्तुत भएको समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भएको बताए ।
समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिना सूचना निरन्तर ५ वटा बैठकमा सांसदहरू अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था गरेको छ । कार्यविधिमा ५ वटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ ।
बिहीबारको बैठकमा समितिका ज्येष्ठ सदस्य शेरबहादुर देउवा उपस्थित नभएपछि देउवा पछिका ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको थियो ।













