News Griha :: न्यूजगृह
शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नीतिमा गुणात्मक सुधार गरिने बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गर्न शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको बताए ।

उनले स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गर्ने कामलाई निरन्तरता दिइने बताए । 

प्रधानमन्त्री दाहालले नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त प्रस्तावहरूको सम्भाव्यता अध्ययन भइरहेको बताए । 

उनले आव २०७९/८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको पनि जानकारी गराए । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:३७
Weather Update