
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोषी ठहरिए आफू जेल जान तयार रहेको बताएका छन् ।
प्रतिनिधि सभामा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादी क्यान्टनमेन्टसम्बन्धी सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दोषी ठहरिए जेल जान तयार रहेको बताएका हुन् ।
‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ भन्नेमा म आफू दृढ छु, उनले थपे, ‘फेरि पनि कसैले उजुरी दिएर दोषी ठहरिए जेल जान तयार छु ।’
प्रधानमन्त्री प्रचण्डले यो मुद्दा पहिले नै टुङ्गिइसकेको पनि उल्लेख गरे । उनले २०४८ सालपछिको सबै मुद्दाहरूको छानबिन गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डको जवाफ : पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा यो आरोपका निम्ति आरोप मात्रै हो भन्ने कुरा जोड दिएर भन्न चाहन्छु । किनकि त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोनमेनमा पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोनमेनको भौतिक पूर्वाधार र योद्दाहरूको रासनपानीको निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट र त्यसको हिसाब किताब, त्यहाँ को–को थिए ? को–कोले लिए ? भन्ने सबै रेकर्ड रहेको जानकारी गराए ।
त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । डा.रामश शरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्ष भइसकेको कुरा हो । त्यसलाई अहिले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा पर्ने गरेको छु । इतिहासको त्यस्तो परिघटना जसले देशलाई शान्तिको नयाँ युगतिर ल्याउन मद्दत ग¥यो । इतिहासको त्यस्तो घटना जसले देशलाई संस्थागत गर्न मद्दत ग¥यो ।
यदि त्यस्तो केही छानबिन गर्न पर्छ भने पहिला पनि आफ्नो दलको घोषणा पत्रमा २०४८ सालदेखिकै सबै घटनाहरू, उच्च पदस्थ अधिकारीहरूको छानबिनको सम्बन्धमा या विभिन्न समयमा उठेका भष्ट्रारसम्बन्धी सबै मुद्दाहरूमा छानबीन गर्न तयार छु ।
हामी सबै राजनीतिक तहमा संकल्पका साथ सहमति गरेर जाँदा सबै चीज छानबिन गर्न सकिन्छ । देशमा सुशासनको भ्रष्टाचारबाट उन्मुखको नयाँ युग सुरु गर्न सकिन्छ ।
क्यान्टोमेनको कुरा कपोकल्पित र पूर्वाग्रहित छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले उजुरी कै आधारमा छानबिन गरी दोषी ठहरीए जेल जान तयार रहेको छु ।













