
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेपछि मात्रै प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदनबारे जानकारी दिनसक्ने बताएका छन् ।
प्रतिनीधि सभामा सांसदहरूको सवालजवाफ कार्यक्रमा एमाले नेता रघुजी पन्तको प्रश्नको जवाफमा उत्तर दिँदै उनले भने, ‘ईपीजी रिपोर्टबारे भारत गएपछि मात्र थाहा हुन्छ । सीमासम्बन्धी विषयमा हामी एक इन्च जमिन छोड्दैनौँ । छिमेकीको एक इन्च चाहिँदैन ।’
उनले सीमा विवाद सबै दलको एक मत भएकोले त्यहीभित्र रहेर भारतसँग छलफल गरिने स्पष्ट पारे । उनले थपे, ‘यो नीतिभित्र रहेर भारत सरकारसँग छलफल हुन्छ । यसमा सबै दलको एकमत छ । नेपालको राष्ट्रिय हित, अखण्डता, एकता र स्वाधीनतामा कुनै सम्झौता या असर पर्नदिने छैनौँ, विश्वास दिलाउन चाहन्छौँ ।’
तर, उनले सांसद पन्तको लिम्पियाधुरा, लिपुलेक र कालापानीबारेको प्रश्नको भने सम्बोधन गरेनन् ।













